सरकारले हरेक वर्ष पुँजीगत खर्च गर्न नसक्दाको नकारात्मक असर राष्ट्रिय अर्थतन्त्रमा पर्ने अर्थविदहरूले बताएका छन् । प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसन नेपाल (पिन) ले शुक्रबार राजधानीमा आयोजना गरेको ‘पुँजीगत खर्च र राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभाव’ विषयक बहस श्रृङ्खला–१ मा सहभागी अर्थविदहरूले यस्तो बताएका हुन् ।
‘पूँजीगत खर्चको अवस्था कमजोर बन्दै गएको छ, आर्थिक वृद्धिका कारणले पनि अहिले असर गरिरहेको छ’, पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पाण्डेले भने, ‘वर्तमान सरकार चालु खर्च बढाउनेतर्फ लाग्नु हुँदैन ।’
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारले आर्थिक मन्दीको संकेत गरेको बताएका छन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. खतिवडाले विगतमा शेयर बजार अश्वभाविक रुपमा बढाईएको र अहिले घट्दा पनि अश्वभाविक घटेको बताएका हुन् ।
अर्थतन्त्रका जानकार डा. सूर्यमान आचार्यले अरू राष्ट्रको नक्कल गरेर बनाएको परियोजना सफल हुन नसक्ने टिप्पणी गरे । उनले नेपालका स्रोत र क्षमतामा अन्तर हुँदा नेपाल सोचेअनुरूप आर्थिक विकास हुन नसकेको धारणा राखे ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजना निर्माण गर्दा पर्याप्त तयारी नै नहुने गरेको र सबै बजेट असारमा गएर केन्द्रित हुँदा विकासमा निर्माणमा समस्या देखिएको बताए ।
एसोसिएसनका अध्यक्ष डा सुरज लामिछानेले नेपालमा पूँजीगत खर्चको स्थिति कमजोर बन्दै गएको भन्ने आम कुरा आएपछि वास्तविकता बाहिर ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो।